| विविधकरोडौँको भवन अलपत्र आइटी पार्क सञ्चालन अन्योलमा सूचना प्रविधिकालागि आइटी पार्क सञ्चालन गर्न भनेर सरकारले करोडौँ लगानी गरेर यहाँ बनाएका भवनहरु अहिले अलपत्र अवस्थामा छन् ।
सूचना प्रविधिकालागि आइटी पार्क सञ्चालन गर्न भनेर सरकारले करोडौँ लगानी गरेर यहाँ बनाएका भवनहरु अहिले अलपत्र अवस्थामा छन् ।
धनेश्वरमा २२७ रोपनी क्षेत्रफलमा आइटी पार्कका लागि गत वर्ष नै चारवटा आवासीय, एउटा व्यापारिक र एउटा प्रशासकीय भवन निर्माण भएको थियो ।
करिब आठ महिनाअघि यहाँ काम सुरु गरेको एक विदेशी कम्पनीले पनि पार्क छोडेर काठमाडौँ सरेपछि आइटी पार्कका भवनहरु हाल अलपत्र परेका हुन् । आइटी पार्क निर्माणका लागि हालसम्म २९ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ ।
आइटी पार्कमा अहिले केही सुरक्षा गार्डबाहेक कोही बस्दैनन । गत वर्ष सरकारले आइटी पार्कमा व्यवसाय सञ्चालन गर्न टेन्डर आहृवान गरे पनि नेदरल्यान्डको जाभ्रा नामक सफ्टवेयर उत्पादक कम्पनी बाहेक कसैले टेन्डर हालेको थिएन । टेन्डर पास भएर आठ महिनाअघि काम सुरु गरेको जाभ्राले गत असार १ गतेदेखि प्राविधिक समसस्या देखाई आइटीपार्क छोडी काठमाडौँ सरे पछि सो पार्कको निर्माण अलपत्र परेको हो ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष विप्लपमान सिंहले सरकारले करको मात्रा बढाएकाले कुनै विदेशी तथा स्वदेशी कम्पनीले आइटी पार्कमा रुचि नदेखाएको बताए ।
पार्क निर्माण सम्पन्न भएपछि सुरुमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले आइटी पार्कमा काम गर्न चाहना देखाएका थिए । तर सरकारको रवैयाकै कारण अन्तिम अवस्थामा एउटा बाहेक कुनै पनि कम्पनीको टेन्डर नपरेको आरोप सिंहले लगाए ।
बनेपा तथा वरिपरिका क्षेत्रलाई आइटी सिटी बनाउने उद्देश्यले सरकारले आइटी पार्क निर्माण सुरु गरेको हो । आइटी पार्कमा नयाँ नयाँ सफ्टवेयर निर्माण गर्ने, हार्डवेयरह उत्पादन गर्ने, उत्पादित सफ्टवेयर र हार्डवेयरहरु बिक्री गर्ने र विदेशमा आएको प्रविधिलाई तुरुन्तै नेपाल भित्र्याउने साथै विदेशी मुद्रा आर्जनका लागि राम्रो माध्यम भएको सूचना प्रविधि विज्ञहरु बताउँछन् ।
आइटी पार्क छाडेको जाभ्रा सफ्टवेयर कम्पनीले काम सुरु गरेदेखि नै आइटी पार्कमा कनेक्टिभिटीको समस्या देखाउँदै आएको थियो । सूचना प्रविधि पार्कको सञ्चालन विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत भएको र पार्कलाई उद्योगको रुपमा विकास गर्न उद्योग मन्त्रालयको दायित्व हुने भएकाले यी तीनवटै मन्त्रालयबीच समन्वय हुन नसकेकाले आइटी पार्क सञ्चालन अन्योलमा परेको सूचना प्रविधि उच्च स्तरीय आयोगका एक सदस्यले बताए ।
जिल्लामा आइटी पार्क सञ्चालन हुने भएपछि त्यसकै लागि तालिम लिनेहरुको घुइँचो एक समय निकै भएको कम्प्युटर इन्ष्टीच्युट सञ्चालकहरु बताउँछन् । आइटी पार्कमा काम गर्छु भनेर बस्ने धेरै व्यक्तिहरु अहिले बेरोजगार बनेका छन् ।
नेपालमा सञ्चालित स्वदेशी सफ्टवेयर कम्पनीसँग धेरै जनशक्तिलाई काम दिने क्षमता नभएकोले आफूले हजारौँ रुपैया खर्च गरेर काठमाडौँ गएर तालिम लिएको अहिले काम नलागेको बताउँदै बनेपाका एक युवा आइटी पार्ककै भविष्य अन्धकार भएपछि अब कोरिया तिर काम गर्न जाने मनसाय राखेको बताउँछन् ।
केही समय अघि आइटी बनेपा, धुलिखेल र पनौती नगरपालिका सहित वरिपरिका आधादर्जन जति गाविसलाई सूचना प्रविधि क्षेत्र घोषणा गरिएको थियो । आइटी पार्ककै कारण पनौती र बनेपा नगरपालिकाबीचमा बेलाबेलामा सीमा विवाद पनि चर्किएको थियो । अहिले दुवै नगरपालिका पनि यस सम्बन्धमा चुप लागेर बसेका छन् ।
क्यानका अध्यक्ष सिंह वर्तमान सरकारले पहल नगरेको कारण आइटी पार्क अलपत्र परेको बताउँछन् । आफूहरुले पटकपटक यस विषयमा गम्भीर हुन आग्रह गर्दा पनि सरकारले नसुनेको गुनासो अध्यक्ष सिंहले गरे ।
सूचना प्रविधि उच्च स्तरीय आयोगका उपाध्यक्ष सरोज देवकोटाले एक महिनाभित्र आइटी पार्क सञ्चालनका लागि टेन्डर आहृवान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । वर्तमान राजनीतिक परिवेशका कारण विदेशी कम्पनीहरु आउन गाह्रो मानेको बताउँदै देवकोटाले कर घटाउन सरकारलाई आग्रह गरेको बताउनुभयो । | |