समाचारप्रहरी-वाईसीएल समन्वय असम्भवः नेपाल नेकपा (एमाले) महासचिव माधवकुमार नेपालले नेकपा (माओवादी) को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई प्रहरीसँग समन्वय गरी निर्वाचनमा लगाउने कुरा असम्भव भएको बताउनुभएको छ।
नेकपा (एमाले) महासचिव माधवकुमार नेपालले नेकपा (माओवादी) को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई प्रहरीसँग समन्वय गरी निर्वाचनमा लगाउने कुरा असम्भव भएको बताउनुभएको छ।
'प्रहरी भनेको राज्यको सुरक्षा निकाय हो, तर वाईसीएल कुनै दलको जनसंगठन हो भन्ने थाहा हुँदाहुँदै त्यसलाई निर्वाचनमा खटाउन कसरी मिल्छ ?', रिपोर्र्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा महासचिव नेपालले भन्नुभयो- 'वाईसीएलजस्ता अनेरास्ववियु, प्ररायुसंघ, तरुण दललगायतका विभिन्न जनवर्गीय संगठन पनि छन्। यी संगठनहरूलाई मतदातालाई पानी खुवाउने, स्वयम्सेवा गर्ने तथा चुनाव भाँड्न खोज्ने गुन्डालाई तह लगाउने काममा लगाउनुपर्छ।'
माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको चुनावमा वाईसीएल र प्रहरीबीच समन्वय हुनुपर्ने कुरा सोमबार बुटवलमा व्यक्त गर्नुभएको थियो।
प्रचण्डको सो भनाइलाई नेका प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाले पनि अस्वीकार गर्नुभएको छ।
'नेपाल प्रहरी र सशस्त्र प्रहरीको समानान्तरमा कुनै पनि जनसंगठनलाई राख्न सकिँदैन' -देउवाले प्रेस युनियन चितवनले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा भन्नुभयो।
उहाँले वाईसीएलको गतिविधि नसच्चिए मंसिर ६ मा संविधानसभाको चुनाव हुन नसक्ने पनि बताउनुभयो।
साझा फोर्सको प्रस्ताव
यसैबीच बाँकेबाट समाचारपत्र संवाददाताले जनाएअनुसार सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले संविधानसभाको निर्वाचनमा आठै दलका युवाहरूको 'साझा फोर्स' तयार गरी परिचालन गर्नुपर्ने बताउनुभएको छ।
क्रान्तिकारी पत्रकार संघले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री महराले 'युवा फोर्स' ले संविधानसभामा सुरक्षानिकायलाई सहयोग गर्ने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो- 'सबै ठाउँमा सुरक्षाकर्मी पुर्याउन सक्ने अवस्था छैन। त्यसैले आठै दलका युवाहरूको संयुक्त संगठन बनाएर सहयोग लिन सकिन्छ।'
संविधानसभा निर्वाचन बिथोल्न देशी-विदेशी शक्तिहरू लागेकाले निर्वाचन हुने नहुने आशंका बढेको भन्दै मन्त्री महराले वर्तमान सरकारले जसरी पनि निर्वाचन सम्पन्न गर्ने बताउनुभयो।
सरकारको बजेट प्रस्तुति शैली परम्परागत भएकाले पार्टीले असहमति जनाएको भन्दै महराले असहमतिका बीचबाट नै राजदरबारबाट बजेट छुटयाएको बताउनुभयो।
|