समाचारसंविधानसभाको चुनाव बारे छलफल जारीसबै राजनीतिक दलहरु अन्तरिम संविधानमा उल्लेख भए बमोजिम मिश्रित चुनाव पद्धतिका आधारमा मतदाता सामु जान अझै तयार नरहेको अवस्थामा प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल भएको छ।
सविधानसभाको चुनाव आउन १०० दिन मात्र बाँकी रहँदा उक्त छलफल भएको हो।
तर सबै राजनीतिक दलहरु अन्तरिम संविधानमा उल्लेख भए बमोजिम मिश्रित चुनाव पद्धतिका आधारमा मतदाता सामु जान अझै तयार देखिएका छैनन।
प्रमुख निर्वाचन आयुक्त पोखरेलले आफू नियमित भेटघाटका लागि प्रधानमन्त्री निवास गएको बीबीसीलाई बताए।
तर उनले भने, “आइतवार हामी सबै जना आयुक्तहरु प्रधानमन्त्रीलाइ एकै पटक भेट्दैछौं। किनभने निर्वाचन आयोगलाई मात्र चुनाव लागेर भएन। चुनाव दलहरुलाई पनि लाग्नु पर्यो। हामी मात्रै तातेर यहाँ केहि हुनेवाला छैन।”
अधिकारीहरु आयोग चुनावका लागि तम्तयार रहेको बताँउछन।
संविधानसभा चुनाव अघि मतदाताहरुलाई शिक्षित गराउने लगायतका सबै सामाग्रीहरु तयार रहेको बुझिएको छ।
खै घोषणापत्र ?
तर ऐतिहासिक हुने भनिएको मंसिर ६ गतेको चुनावका लागि दलहरु भने अझै तयार देखिएका छैनन्।
चुनाव १०० दिनमात्र टाढा रहेको छ र दलहरुले भने अहिले सम्म आफ्ना चुनावी घोषणापत्र समेत सार्वजनिक गर्न सकेका छैनन्।
अझ एउटा प्रमुख राजनीतिक दल नेकपा माओवादीले त हालै सम्पन्न एउटा बृहद बैठक पछि चुनाव प्रणाली नै परिवर्तन गर्दै गणतन्त्रको घोषणा जस्तो दूरगामी असर पर्ने निर्णय चुनाव अघि नै गर्नु पर्ने अडान लिएको छ।
तर आठ दल सहमत भएर बनाइएको अन्तरिम संविधान अनुसार मिश्रित चुनाव पद्धतिका आधारमा संबिधान सभाको निर्वाचन गरिने भनिएको छ।
तर अहिले माओवादीले समानुपातिक पद्धतिमा जानु पर्ने कुरा अगाडी ल्याउनाले बाटो कठिन हुन सक्ने डर धेरैको छ।
अर्कोतर्फ स्वतन्त्र चुनावका लागि शान्ति सुरक्षाको वातावरण बनाउनु पर्ने चुनौती त सबैका सामु छर्लङ्ग छँदैछ।
|