समाचारविभाजित कांग्रेस एक बनाउने प्रयास तीव्र लामो समयदेखि एकता प्रयासमा लागेका दुई कांग्रेसबीच छिट्टै एकीकरण गर्ने तयारी भईरहेको एकजना कांग्रेस नेताले जनाएका छन्।
एकता कार्यदलमा रहेका नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारका अनुसार सकेसम्म साउनभित्रै अन्यथा भदौको पहिलोसातासम्म एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बुधवार दुबै पक्षको उच्चस्तरीय छलफलको आयोजना गरेका थिए।
हालसम्मको सबैभन्दा वृहत् सो एकता भेलामा दुवै दलका सभापति, कार्यदल र केन्द्रीय पदाधिकारीहरु सहभागी थिए।
पछिल्ला दिनहरुमा एकता प्रयास निकै अघि बढेको बताइएको थियो।
तर घोषणामा र्भको ढीलाइकाबारे नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति तथा कार्यदलका सदस्य प्रकाशमान सिंहले भने, "हामी तलदेखि माथिसम्म एकैपटक एकताको घोषणा गरौ भन्छौ, तर नेकाले पहिले केन्द्रमा एकता घोषणा गरौं तल त विस्तारै भैहाल्छ भनिरहेको छ।"
विवाद
एकीकृत दलमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति देउवा र नेपाली कांग्रेसका उपसभापति सुशील कोइरालामध्ये को वरिष्ठ हुने भन्ने मर्यादाक्रम सम्बन्धी विवाद पनि एकताको एउटा बाधक रहेको बताइएको छ।
नेकाले पहिले केन्द्रमा एकता घोषणा गरौं तल त विस्तारै भैहाल्छ भनिरहेको छ
तर त्यस बारेमा नेताहरुलाई समाधान निकाल्न कुनै गार्हो नभएको नेता सिंहले बताए।
उनले भने, " हामीले मिडियामा बढी हल्ला गर्न भन्दा पनि एकै पटक सहमति भएपछि सार्वजनिक गर्ने प्रयास गरीरहेका छौं।"
हाम्रा काठमानण्डूस्थित संवाददाता भन्छन्, राजतन्त्र उन्मूलनका पक्षपाती दलहरुको बाहुल्य रहेको आठदलीय गठबन्धनमा त्यसबारे अझै निर्णयमा नपुगेका दुई कांग्रेसबीचको एकताले वर्तमान गठबन्धन सरकार र मंसिर ६ गतेको निम्ति तोकिएको संविधानसभा निर्वाचन पनि प्रभावित तुल्याउन सक्छ।
त्यसैले पनि उनीहरुको एकताप्रति राष्ट्रिय र अन्तराष्ट्रिय चासो रहेको विज्ञहरू बताउँछन्।
|